सिनामंगलमा शंकास्पद वस्तु राख्नेको बयान– आर्थिक समस्या थियो, पैसा आइहाल्छ कि भनेर राखेँ

नेपाल कलम
नेपाल कलम ३ श्रावण २०८०, बुधबार
2 Min Read
Aa
Advertisement
Advertisement

३ साउन, काठमाडौं । प्रहरी हिरासतमा रहेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानले ‘पैसा आइहाल्छ कि भनेर राजनीतिक पार्टीको नाम जोडेर बम जस्तो वस्तु’ राखेको बयान दिएका छन् ।

सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलमा अगाडि बुधबार शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफू वैदेशिक रोजगारीबाट फर्किएपछि आर्थिक समस्यामा परेको प्रहरीसँग बयानमा बताएका छन् ।

‘मेरा डेरा सिनामंगलमै थियो, बोर्डमा मोबाइल नम्बर देखेँ । त्यसपछि पैसा आइहाल्छ कि भन्ने भएर फोन गरेको थिएँ’, पासवानको बयान उदृत गर्दै प्रहरी वृत्त, गौशालाका एक अधिकृतले भने, ‘५ लाख माग्दा दिन नमानेपछि तर्साउनलाई भोलिपल्ट बिहान लगेर राखेको थिएँ ।’

घटनास्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा प्रहरीले बरामद गरेको थियो । त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुद राखिएको’ भनिएको थियो । त्यसबारे सोध्दा पासवानले त्यस्तो लेख्दा मान्छेले विश्वास गर्लान् भन्ने लागेर लेखेको बताएका छन् ।

शंकास्पद वस्तु राखेपछि निकैबेरसम्म आफू त्यहीँ बसेको उनले बताएका छन् । पौन १० बजेतिर प्रहरी आएपछि पनि उनी भिडमा अरुसँगै बसिरहेका थिए । सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हेरिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार, उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । ‘कोठामा पनि त्यस्तो खासै केही देखिन्न’, रिजाल भन्छन्, ‘उनले आफू एक्लैले पसल सञ्चालकबाट पैसा लिने गरी योजना बनाएको खुलाएका छन् ।’

प्रहरीका अनुसार, पासवानले सुन पसलका सञ्चालकलाई फोन गरेर ५ लाख रुपैयाँ माग गरेका थिए । नदिए उडाइदिने भन्दै शंकास्पद वस्तु राखेका थिए । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, डिस्पोज गरिएको वस्तुमा विष्फोटक पदार्थ थिएन । ‘तर्साउनलाई मात्र राखिएको रहेछ, डिस्पोज गरेर टोली फर्किएको छ’, भण्डारी भन्छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस्